Friday, September 28, 2012

दशैं भन्नु यस्तै रैछ दशा मात्र आउछ साथी ।
हुनेलाई खुशी जम्मै नहुनेलाई दिउसै राती ।

आँगनीमा फूल फुल्दा फुलसंगै पीडा फुल्यो
कहाँ विसाउ मनको वह कहाँ चढाउ फूलपाती ।

कालो बादल कैले फाट्छ कैले खुल्छ निलो गगन
प्रतिक्षा मै मर्छु क्यारे कैले धुनु मनको काती ।

एउटा मर्छ नपचेर अर्को मर्छ नपाई खान
देखेर यो विडम्वना चर्कीरह्यो सधैं छाती ।

यस्तै रैछ तिम्रो संसार लोभ लालच पापैपाप
यस्तो भन्दा सुन दैव नसृजेकै हुन्थ्यो जाती ।

कस्तो विधान दैव तेरो मान्छे विचमा विभेद किन ?
एउटा झर्छ रसातलमा अर्को चढ्छ शीखर माथि ।

टि. बि. सागर
सुनसरी-नेपाल

No comments:

Post a Comment